जुम्ला – परिपक्व नहुँदै बिक्री–वितरण गर्ने, किसानले समयमा मूल्य नपाउने र बिचौलियाले फाइदा उठाउने जस्ता समस्या भोग्दै आएको जुम्लामा अब स्याउ बजारीकरण हुने भएको छ । रैथाने बालीको बजारीकरण गर्दै आएको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले स्याउ पनि बजारीकरण गर्न लागेको हो । वर्षदेखि सहकारीले काठमाडौंको भद्रकाली र जुम्लाको खलंगा बजारमा मिनिमार्केटमार्फत तथा नेपालगन्ज र सुर्खेतको विमानस्थलबाट पनि स्याउ बिक्री–वितरण गर्दै आएको छ ।
संस्थाले स्थानीय र फुजी जातका स्याउ किसानको बगैँचामै पुगेर संकलन गरी बजारीकरण गर्ने तयारी गरेको छ । चन्दननाथले लामो समयदेखि कर्णालीमा उत्पादन हुने रैथाने बाली मार्सीचामल, फापर, सिमी, भटमास, चिनो, कागुनो, चामल, पिठो मिनिमार्केटमार्फत बजारीकरण गर्दै आएको छ ।
चन्दननाथ सहकारी संस्थाका अध्यक्ष विष्णुमाया बुढाका अनुसार किसानको स्याउ परिपक्क नहुदै काँचै विक्री हुने समस्यालाई रोक्नका लागि सहकारीले नै स्याउको बजारीकरण गर्न थालेको हो । उनले भनिन् गाउँपालिका, किसन र संस्थाको पहिचान हुने गरि ३० हजार काटुनको व्यवस्थापन गरेका छौँ । यो वर्ष ३० हजार काटुनमा प्रति काटुन १० केजीका दरले स्याउ अट्ने गरी ३ लाख केजी स्याउ विक्रीवितरण गर्ने छौँ । सहकारीले आफ्नै कोल्डस्टोर पनि बनाएको छ । यही स्थानीय बजारमा खपत हुने स्याउ यही कोल्डस्टोरमा राखेर विक्रीवितरण गर्ने र धेरैजसो स्याउ नेपालका ठुला शहर सुर्खेत, नेपालगज्ज, काठमाडौँ लिएर विक्रीवितरण गर्ने तयारी गरिएको उनले बताइन् ।
संस्थाका सहायक प्रवन्धक विश्वराज खत्रीका अनुसार करिब डेढ सय किसानमा ६ करोड लगानी गरिएको छ । उनले भने, ‘किसानले उत्पादन गरेको स्याउ यो वर्षदेखि बजारीकरण बिक्री–वितरणका लागि जिम्मेवारी लिएका छौँ ।’ उनका अनुसार ए, बी, सी गरी तीन ग्रेडका स्याउ बजारीकरण गर्ने तयारी भइरहेको छ । ‘सी ग्रेडभन्दा कमसल खालका स्याउ चाना, जुस, जामजेली बनाएर मिनिमार्केटमार्फत बिक्री–वितरण गर्छौँ ।’ सिजनमा चलेको मूल्यभन्दा किसानलाई प्रतिकेजी पाँच रुपैयाँ बढी दिएर सहकारीले स्याउ खरिद गर्नेछ । गत वर्ष किसानले बगैँचामै प्रतिकेजी ६०–७० रुपैयाँसम्म बिक्री–वितरण गरेका थिए । सहकारीले अहिले त्योभन्दा प्रतिकेजीमा पाँच रुपैयाँ बढी दिने उनको भनाइ छ ।
जिल्लाको सर्वपक्षीय बैठकले भदौँ पहिलो साता पछिदेखि मात्रै स्याउ संकलन तथा विक्रीवितरण गर्ने निर्णय गरेको छ । कृषि शाखाका प्राविधिकले स्याउ परिपक्क भए नभएको चेकजाँच गरेरमात्रै स्याउ टिप्ने र निर्यात सिफारिस पनि कृषि शाखाले दिने निर्णय गरेको छ । कर्णाली प्रदेशका १० जिल्लामध्ये सबैभन्दा धेरै जुम्लामा ४४ सय हेक्टर क्षेत्रफलमा स्याउ खेती हुने गरेको छ ।




