रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको प्रलयकारी बाढी तथा पहिरोमा परी पातारासी गाउँपालिकाका ४९ जना नागरिक बेपत्ता भएको दुःखद घटनाप्रति शोक व्यक्त गर्दै जुम्लाको पातारासी गाउँपालिकाले असोज ९ गते शोक बिदा दिने निर्णय गरेको छ।
पातारासी गाउँपालिकाले बुधबार शोक बिदासम्बन्धी सूचना जारी गर्दै भोटेकोशीमा आएको बाढी तथा पहिरोमा आफ्ना ४९ जना नागरिक बेपत्ता भएपछि गाउँपालिका तथा समग्र पातारासीवासी मर्माहत भएको जनाएको छ। घटनाले बेपत्ता नागरिकका परिवारसँगै गाउँपालिकाका सम्पूर्ण नागरिकलाई शोकमा डुबाएको गाउँपालिकाको भनाइ छ।
गाउँपालिकाका अनुसार बेपत्ता नागरिकका परिवारजनले हिन्दु धर्मशास्त्रअनुसार दाहसंस्कारसम्बन्धी धार्मिक संस्कारसमेत सम्पन्न गरिसकेका छन्। गाउँपालिकाले बेपत्ता नागरिकहरूको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ भने शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
गाउँपालिकामा बसेको आकस्मिक बैठकको निर्णयअनुसार २०८३ असोज ९ गते पातारासी गाउँपालिका क्षेत्रभर शोक बिदा दिने निर्णय गरिएको हो। उक्त दिन गाउँपालिकाको कार्यालय, सबै वडा कार्यालय, विद्यालय तथा सम्बन्धित सार्वजनिक निकायहरू बन्द रहने गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले शोक बिदाको दिन नियमित सार्वजनिक सेवा प्रवाह प्रभावित हुने भएकाले सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमायाचना समेत गरेको छ।
भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि पातारासी गाउँपालिकाका ठूलो संख्यामा नागरिक बेपत्ता भएपछि उनीहरूको परिवारमा लामो समयदेखि पीडा र अन्योलको अवस्था रहँदै आएको छ। सोही घटनाप्रति गाउँपालिकाले संस्थागत रूपमा शोक व्यक्त गर्दै एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।




