काठमाडौँ ः सरकारले आर्थिक वर्ष ०७७/७८ का लागि पौने १५ खर्बको बजेट ल्याएको छ ।
अर्थमन्त्री युवराज खतिवडाले आउँदो आवका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट संसदमा प्रस्तुत गरेका हुन् ।
खतिवडाले चालू अर्थात् सामान्य खर्चतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ विनियोजन गरेका छन् ।
त्यसैगरी उनले ३ खर्ब ५२ करोड रकम पुँजीगत अर्थात् विकास निर्माणतर्फ विनियोजन गरेका छन् । वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ७२ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।
सरकारले ८ खर्ब ८९ अर्ब रुपैयाँ राजस्वबाट संकलन गर्ने लक्ष्य राखेको छ । त्यसैगरी २ खर्ब २५ अर्ब आन्तरिक र २ खर्ब ९९ रुपैयाँ विदेशी ऋणबाट परिचालन गरिने लक्ष्य सरकारको छ ।
त्यसैगरी आन्तरिक ऋणको उपयोग विकास बजेटतर्फ मात्रै खर्च गरिने अर्थमन्त्री खतिवडाले बताए ।
७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य
सरकारले आगामी अर्थिक वर्ष ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ ।
चालू आर्थिक वर्षमा कोरोनाका कारण २ प्रतिशतमा खुम्चिने प्रक्षेपण भइरहेका वेला सरकारले आगामी वर्ष महत्वाकांक्षी लक्ष्य लिएको हो ।
कोभिड– १९ का कारण पूरै अर्थतन्त्र धराशायी भइरहेका वेला आउँदो आर्थिक वर्षका लागि सरकारले उच्च महत्वांकाक्षी आर्थिक वृद्धिको लक्ष्य लिएको हो ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले आर्थिक वृद्धिको लक्ष्य प्रस्तुत गरेका हुन् ।
https://www.nayapatrikadaily.com/news-details/44271/2020-05-28