जुम्ला । कर्णाली प्रदेशको राजधानी सुर्खेतपछिको दोस्रो ठुलो शहर जुम्लाले संघियतापछि भौतिक विकासले फड्को मारेको छ । कुनै समय माटाका कच्ची घर मात्रदेखि जुम्लामा आजभोली गाउँदेखि शहरसम्म पक्की संरचना निर्माण भएका छन् । भने सरकारी भौतिक संचना निर्माणले पनि उत्तिकै गती लिएको पाईएको हो ।
एक दशक पहिला सम्म साँघुरो कोठामा रहेका जुम्ला स्थित अधिकांश सरकारी कार्यालय हाल सुविधायुक्त आफ्नै भवनमा छन् । बाँकी कार्यालयहरु पक्की भवन निर्माण गर्ने,जग्गा खरिद गर्ने प्रक्रियामा छन् ।
जस अन्तरर्गत जुम्लामा ठुलो लगानीमा कर्णालीकै नमुना एकिकृत कार्यालय निर्माण भईरहेको छ । विगत ३ वर्ष पहिलेदेखि निर्माण भईरहेको एकिकृत कार्यालयको ७५ प्रतिशत काम सम्पन्न भएको सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाका सव–ईन्जिनियर चन्द्र बहादुर खड्काले बताउनुभयो ।
उहाँले भन्नुभयो,“बढीमा ४ वटा कार्यालय एकै भवनमा संचालन गर्ने लक्ष्य बमोजिम एकिकृत कार्यालय निर्माण थालिएको हो । जुम्लामा कर्णालीकै पहिलो एकिकृत कार्यालय बन्ने छ । सेवा ग्राहिले एकै भवनबाट छिटो र सहज सेवा पाउने अपेक्षा समेत गरिएको छ ।”
पाँच तले उक्त भवनमा चार तलामा कार्यालय रहन छन् । भने, पाँचौ तलामा कर्मचारी गेष्ट हाउस बनाईने भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय,सरकारी वकिल कार्यालय लगायत अन्य चारवटा कार्यालय एकैसाथ संचालन हुने छन् ।
भने हाल उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय भाडाकै घरमा संचालित छ । सरकारी वकिल कार्यालय पुरानो सरकारी भवनमा छ । संरचना अभावले साँघुरो कोठामा गुम्सीएर सेवा दिनु पर्ने बाध्यताको अन्त्य हुने सव–ईन्जिनियर खड्काको भनाई छ ।
७ करोडबढी लागतमा एकिकृत कार्यालय
विगत तीन वर्षदेखि निर्माण भईरहेको पाँच तले नमुना एकिकृत कार्यालय भवनको हाल सम्म ७५ प्रतिशत काम सकिएको छ । पर्खाल लगाउने,डलान गर्ने र बाहिरी भित्री रंगरोगन गर्ने सबै काम सकिएको छ । भने,भ्याल ढोका जोड्ने र अन्य अन्तिम फिनिसिङको २५ प्रतिशत काम बाँकी रहेको छ ।
एकिकृत कार्यालय निर्माणका लागि ९ करोड ६८ लाख ७४ हजार ८४५ रुपैयाको स्टमेट गरिएपनि निर्माण कम्पन्नी (डाँफे क्याराभान जेभी काठ्मान्डौ)ले घटेर ७ करोड २४ लाख ३२ हजार ६५७ रुपैयामा ठेक्का सम्झौता भएको सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाका सव–ईन्जिनियर चन्द्र बहादुर खड्काले बताउनुभयो ।
सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाको कुल ७ करोड २४ लाख ३२ हजार ६ सय ५७ रुपैया लगानीमा एकिकृत कार्यालय निर्माण थालिएको हो । खड्काले भन्नुभयो,“भवन निर्माणको जिम्मा (डाँफे क्याराभान जेभी काठ्मान्डौ)ले लिएको थियो । वितेको ३ वर्षमा ७५ प्रतिशत भवन निर्माणको काम सम्पन्न गर्दा कुल बजेटको ५ करोड ४१ लाख ५३ हजार ५३२ रुपैया खर्च भएको छ । काम दुर्त गतीमा अघि बढेपनि आगामी असार सम्म म्याद थप गरिदिन आग्रह आएकोले म्याद थप प्रक्रिया भईरहेको छ ।”
एकिकृत भवनमा अन्य कुन कार्यालय राख्ने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बैठक बसेर निर्णय गर्नुपर्ने प्रावधान अनुसार कार्यालय संचालन हुने आयोजनाका प्रमुख प्रदिप कुमार सिंहले बताउनुभयो ।
जनशक्ति अभावमै दुर्त काम
न्युन प्राविधिक जनशक्तिका बीच पनि सघन सहरी तथा भवन निर्माण आयोजनाले कर्णालीका दुर्गम जिल्लाहरुमा भवन,सडक निर्माणका काम गर्दै आएको छ । चार जना ईन्जिनियर दरबन्दी रहेको उक्त कार्यायलयमा अहिले एकजना पनि छैनन् । जुम्लामा अधिकांश ईन्जिनियर आउँन मान्दैनन् ।
सव–ईन्जिनियर खड्काले भन्छन,“भौगोलिक विकटतादेखि राज्यले दिने न्युन सेवासुविधाका कारण कर्णालीमा कर्मचारी आउन मान्दैनन । प्राविधिक जनशक्ति नभई नहुने कार्यालयमै कर्मचारी नहुँदा मुस्किलले काम गर्छौ ।”
सव–ईन्जिनियर ४ जना दरबन्दी रहेकोमा ३ जना कार्यरत छन् । भने १ जना रिक्त छ । तर सरकारले कर्णालीको पूर्वाधार विकासलाई गती दिन सघन सहरी तथा भवन निर्माण आयोजनामा प्राविधिक जनशक्तिको दरबन्दी थपेर कर्मचारी पठाउनु पर्ने आबश्यक छ ।
जनशक्ति अभावकै बीच कार्यालयले जुम्ला सहित साविक कर्णालीका चार जिल्ला,हुम्ला,डोल्पा,मुगु र कालिकोट लगायत तीन वटा जिल्ला अस्पतालमा समेत पूर्वाधार निर्माणको काम गरिरहेको सघन सहरी विकास तथा भवन निर्माण आयोजना जुम्लाका प्रमुख प्रदिप कुमार सिंहले बताउनुभयो । जुम्लाबाटै कर्णालीका सबै जिल्लामा गएर अनुगमन निरिक्षण लगायतका काम गर्नुपर्ने अबस्था छ । न्युन कर्मचारीका बीच पनि कार्यालय प्रमुख,लगायतका कर्मचारीले नियमित कार्यसम्पादन प्रभावकारी रुपमा गरिरहेका छन् ।