पहिलो मार्सी फलेको‘गुरुफोक्टो’को एतिहास !


जुम्ला । करिब १२ सय वर्ष पहिले महापुरुष लछालकृति पैकलोले तातोपानी–२ को लाछुज्यूलोमा पहिलो पटक मार्सी धान रोपेको किवंदन्ती छ । किंवदन्तीअनुसार लछालकृति पैकेलो, तातोपानी–२ को झारखोली भन्ने जंगलमा बेवारिसे अवस्थामा थिए । १२ सय वर्षअघि कुचे बुढा भन्ने व्यक्तिले जंगलमा रोइरहेको अवस्थामा पैकलो नामको बच्चालाई भेटेका थिए । उनलाई घरमा ल्याएर लालनपालन गरे ।

एकदिन पैकलो आफैं गएर हाल धानका खेती रहेको लाछुज्यूलोको घना जंगलमा मार्सीधान चन्दननाथ बाबाबाट विउ लिएर परिक्षण गरेपछि सफल भयो । “१२ सय वर्षको समयमा पैकेलोले एक्लै खनेर धान रोपेपछि ६ महिनाको अवधिमा मार्सीधान उत्पादन भएको बुढापाका सुनाउँछन् ।

स्थानीय ८० वर्षिय नन्दप्रसाद अधिकारी आफ्ना बूढाबाजेको भनाइलाई उदृत गर्दै भन्छन,“पैकलोको एतिहासबारे आधिकारी अभिलेख त छैन् । बाउबाजेले भनेनुसार खेत खन्ने क्रममा हिलो लागेपछि हिलो पुछ्न पैकेलोले घुँडा कोचेर पानीको मुहान निकालेको समेत इतिहास जिवित छ ।” जसलाई रुखमुल भनेर नामाकरण गरिएको छ । त्यहि स्रोतबाटै अहिले तातोपानी २ र ३ का ३ वटागाउँ पानी खाईरहेका छन् ।

पैकेलो एक महापुरुषका रुपमा तातोपानीको विकासमा जुटेपछि तत्कालीन सिंजा राज्यका शक्तिशाली राजा जालान्धर पैकलोलाई विभिन्न प्रलोभनमा पारी एकै राज्यमा दुई राजा नहुने भन्दै मारेको समेत इतिहास छ । स्वर्गीय लेखक रत्नाकर देवकोटाको एक पुस्तकमा पैकेलोले जुम्लामा अनिकाल नहोस् भन्दै घना जंगल फाँडेर खेत बनाउने शक्ति दिएको र त्यसपछि मात्रै सबैले खेत बनाउँदै मार्सी रोप्ने गरेको उल्लेख छ ।


पहिलाको घना जंगल अहिले जिल्लाकै सबैभन्दा बढी मार्सी धान फल्ने ज्यूलो बनेको छ । लाछुज्यूलोमा धान रोपिसकेपछि मात्रै बाबा चन्दननाथले सेरा खेतमा कास्मिरबाट ल्याएर धान रोपेका हुन् । त्यसैगरी छुमचौर ज्यूलोमा पनि दशकपछि मात्रै रोपाईं भएको थियो । १२ औं शताब्दीमै जालान्धर राजाले पैकेलो महापुरुषलाई मारेपछि उनको एतिहास ओझेलमा परेको किंवदन्ती छ ।
तर स्थानीय सरकार आएपछि रोपाई महोत्सव हुन थालेपनि पैकलोको बास्तविक एतिहास अभिलेख गर्न सकेको छैन् । अब गुरुफोक्टो र लछालकृति पैकलोको एतिहास संस्थागत गर्न अभिलेख राख्नु पर्नेमा जोड दिएका छन् ।

गुरुफोक्टोमा रोपाई महोत्सव
जुम्लामै पहिलो मार्सी धान फलेको लछालकृति पैकेलोको नामाकरण गरेको खेत (गुरुफोक्टो)मा मंगलबार जिल्लाव्यापी दोस्रो रोपाईं महोत्सव गरिएको छ । एक नगरपालिका र सात गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा किसानको सहभागितामा रोपाईं महोत्सव गरिएको हो ।

महोत्सवमा पञ्चेबाजा र मुग्लेरी प्रस्तुती संगै उच्च पदस्थ व्यक्तिनै हली बाउसे,रोप्नेरी,विगारे,ब्यु फाल्ने,भिट्टा लगाउने कामदारका रुपमा रोपाईँमा खटिएका थिए । भने रोपाईँ सकिएपछि चोपाई गरिएको थियो । त्यसपश्चात सयौको संख्यामा हिलो खेलेर किसानलाई प्रेरणाहुने गरी रोपाँई दिवस मनाइएको तातोपानी वडा नंं. ३ का वडाध्यक्ष गोर्कण रावलले बताए ।

स्थानीय सरकार आएपछि जुम्लामै पहिलो मार्सी फलेको गुरुफोक्टो २०७५ मा पहिलो रोपाई महोत्सव गरिएको थियो । कोरोना कारण विगतका वर्षमा हुन नसकेको महोत्सव यस वर्ष भएको हो ।

महोत्सवमा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले गुरु फोक्टोलाई पर्यटकिय क्षेत्रमा रुपमा विकास गर्न यसको एतिहासबारे अभिलेख तयार गर्नु पर्ने बताए । उनले भने,“लछालकृति पैकलाको शालिक बनाउनुका साथै गुरुफोक्टोलाई सरकारी स्वामित्वमा लिन जरुरी छ । भने पालिकाभित्र रहेका पर्यटकिय क्षेत्रहरुको चिनारी तयार गरी प्रचारमा जोड दिएमा पर्यटन प्रर्बद्धनमा टेवा पुग्ने निश्चित छ ।”


मार्सीधानको उत्पादन बृद्धि र गुणस्तर उत्पादनमा ध्यान दिए किसानको आयआर्जन बृद्धिसंगै गुरु गुरु फोक्टो संरक्षण हुने उनको भनाई छ । जिसस उपप्रमुख जनक थकालीले मार्सीधान उत्पादनका दृष्टी लाछु ज्युलाको आफ्नै एतिहासिक महत्व र विशेषता भएकोले त्यसको संरक्षणका लागि तीनै तहका सरकारसंग समन्वय गरी लगानी बढाउनु पर्नेमा जोड दिए ।

तातोपानी गाउँपापालिकाका अध्यक्ष नन्दप्रसाद चौलाँगाईले जुम्लामै पहिलो पटक मार्सीधान उत्पादन भएको खेत (गुरु फोक्टो) लाई पर्यकिय गन्तव्यका रुपमा विकास गर्न,किसानलाई धानखेतीमा प्रेरित गर्न,ब्युटाक्लोर प्रयोगमा निषेध लगाउन रोपाईँ महोत्सव गरिएको बताए । पहिलो सरकार हरेक वर्ष जेठ ३० गते गुरुफोक्टोमा रोपाई महोत्सव मनाउने निर्णय गरेनुसार निरन्रता दिदै आएको अध्यक्ष चौलागाईको भनाई छ ।


पातारासी गाउँपालिकाका अध्यक्ष लक्षिमन बोहोराले पहिलो पटक मार्सीधान फलेको गुरुफोक्टोे,विश्वकै अग्लो स्थानमा धान उत्पादन हुने छुमज्युलो प्रचार प्रशार,संघ र प्रदेशको बेवास्ताले ओझेलमा परेको दुबै क्षेत्रको विकासका लागि साँझा पहल गर्न जरुरी रहेको बताए ।

तातोपानीका निवर्तमान गाउँपालिका अध्यक्ष नवराज न्यौपानले रोपाई दिवस मनाई रहँदा लाछु ज्युलाको आधा भाग बालुवा भरिएर बगर बनेकोले स्थानीयतहले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । रैथानेबाली उत्पादन र उपभोग दुबै घटेकोले किसानलाई उत्पादनसंग जोड्ने नीति ल्याउनु पर्ने सुझाब दिए ।

तातोपानी र पातारासी गाउँपालिकाकी उपाध्यक्ष दोय रेवती रावल र जनमाया रोकायाले मार्सी धानको पहिलो खेती गरिएको गुरु फोक्टोलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न महापुरुष पैकलोको इतिहासलाई जिवित राख्न मार्सीको जगेर्ना गर्न गुरुयोजना बनाउनु पर्ने बताएका छन् ।

प्रकाशित मिति : २०८० जेष्ठ ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस