जुम्ला – खत्याड गाउँपालिका – २ मुगुका राजेन्द्र नेपाली कुर्तासुरुवाल सिलाई कटाईमा प्रथम भएका छन् । मुगु घरभई हाल जुम्ला कनकासुन्दरी गाउँपालिकाको गोठिज्युलामा दाजुभाई टेलर्स संचालन आएका नेपाली प्रथम भएका हुन् । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले आयोजना गरेको कुर्तासुरुवाल सिलाई कटाई सीप प्रतियोगिताकोमा उनले नगद २० हजार सहित प्रमाण पत्र प्राप्त गर्दै प्रथम भएका हुन् । १० जना सहभागी रहेको प्रतियोगितामा अरुलाई पछि पार्दै नेपाली प्रथम भएका हुन् ।
यस्तै द्धितियमा चन्दननाथ नगरपालिका – ५ बजारमा पहिरन बुटिक संचालन भएको भगवति थापा भएकी छन् । उनले नगद १० हजार र प्रमाण पत्र पाएकी छन् । तृतिय स्थानमा जीवन टेलर्स उद्योगका जीवन परियार भएका छन् । उनले नगद ७ हजार सहित प्रमाण पत्र पाएका छन् । कुर्तासुरुवाल सिलाई कटाईमा ५ जना महिला र ५ जना पुरुषको सहभागिता रहेको थयो ।
प्रतियोगितामा सहभागिलाई उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले प्रमाण पत्र उपलब्ध गराएको छ । गतवर्ष उक्त कार्यालयले दौरासुरुवा सिलाई कटाई प्रतियोगिता ओजना गरेको थियो । जुम्ला जिल्लामा सिलाइ कटाइ व्यवसाय गर्दै आएका व्यवसायी बिच कुर्तासुरुवाल सिलाइ सीप प्रतियोगिता आयोजना गरेको कार्यालय प्रमुख मन्दिरनाथ योगीले बताए ।
सिलाइ कटाइ व्यवसाय गर्दै आएका व्यवसायीलाई कुर्तासुरुवाल सिलाउन प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गरिएको उनको भनाइ छ । कार्यालयको चालु आर्थिक बर्षको स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रतियोगिता गरिएको उनले बताए । पुरस्कार वितरण समारोहमा पुग्नु भएका जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले स्तरीय कपडा सिलाउन सुझाव दिए । ग्राहकले भने अनुसारका कपडा सिलाउन सकेमा सँधै प्रथम हुन सकिने उनको भनाइ छ । आचार्यका अनुसार, सीपको प्रोत्साहन गर्न र व्यवसायलाई प्रवद्र्धन गर्न प्रतियोगिताले सहयोगी भएको छ ।



