जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गिडिदह आसपासको पानसय पाटन क्षेत्रमा बाक्लो हिमपातका कारण सम्पर्कविहीन भएका ६ जना भेडीगोठाला सम्पर्कमा आएका छन्।
प्रहरी नायब निरीक्षक चिरञ्जीवी दाहालका अनुसार लालबहादुर रावत, सुरबहादुर रावत, अबिराज बोहरा, झुसे भण्डारी, दानबहादुर रोकाया र बृष धराला सम्पर्कमा आएका हुन्। उनीहरू सुरक्षित रहेको जानकारी प्राप्त भए पनि चारैतिर बाक्लो हिमपातले बाटो ढाकेकाले तत्काल भेडीगोठबाट बाहिर निस्कन सक्ने अवस्था नरहेको दाहालले बताए।
उनका अनुसार उनीहरूबाहेक अन्य भेडीगोठाला तथा भेडाहरू पनि आ–आफ्ना भेडीगोठमा सुरक्षित रहेको जानकारी प्राप्त भएको छ। पानसय पाटन आसपासका क्षेत्रमा लगातार हिमपात भइरहेकाले आवतजावतसमेत प्रभावित भएको छ।
प्रकाशित मिति : २०८३ असोज ९ गते शुक्रवार




