जुम्ला – गुठिचौर गाउँपालिका – १ का पाँच वटा गाउँबस्तीका स्थानीय बिजुली विहीन भएका छन् । नापानीमा रहेको अदालिखोला लघु जलविद्युत आयोजनाको जेनरेटर र ट्रान्समिटरमा समस्या आउँदा नागरिक बिजुली विहीन भएका हुन् ।
१ नम्बर वडामा पर्ने नापानी, गढिगाऊँ, मणिसाँघु, डिल्लीकोट र मनिगाउँका ४८० घरधरीका नागरिक अन्धकारमा बस्न बाध्य छन् ।
गएको फाल्गुन महिनादेखि ५५ किलोवाटको लघु लजविद्युत आयोजनाको जेनरेटर र ट्रान्समिटरमा समस्या आउँदा पाँच वटा गाउँबस्तीका नागरिक अन्धकारमा बस्नु परेको खड्कदेवि मावि मणिसाँघुका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परेक ऐडीले बताए । उनका अनुसार, गाउँबस्ती तीन महिनादेखि बिजुलीविहीन हुँदा यहाँका बालबालिकाको पठनपाठन प्रभावित भएको छ ।
गाउँमा बिजुली नहुँदा सर्वसाधारणको दैनिकी असहज मात्रै भएको छैन उनले भने, बालबालिकाको पठनपाठन पनि प्रभावित बनेको छ । गाउँका स्थानीय दियालो र टुकीको भरमा गुजारा गरि रहेको ऐडिले गुनासो गरेका छन् । छिमेकी गाउँ चोत्रामा विजुलीले उज्यालो हुँदा वडा नम्बर १ भित्रकै अन्य गाउँ अन्धकारमय रहेको उनको भनाइ छ । गाउँमा बिजुली नहुँदा मोबाइल चार्ज गर्नसमेत समस्या भएको छ ।
गाउँमा विजुली उत्पादन हुने आयोजना छ । तर समयमा मर्मत सम्भार नहुदा स्थानीय नागरिक बत्ती मुनिको अँध्यारोमा बस्न बाध्य भएको अर्का स्थानीय गणेश ऐडिले बताए । उनले भने, गाउँमा आयस्रोत राम्रो हुनेले सोलार प्यानल जडान गरे पनि धेरैजसो टुकीकै भरमा अध्यरी रात काटि रहेका छन् ।
अदालिखोला लघु जलविद्युत आयोजनाका सचिव कालीप्रसाद बस्नेतले बिग्रेको जेनरेटर र ट्रान्समिटर आर्थिक अभावले मर्मत हुन नसकेको बताए । उनले भने, २०७५ सालमा निर्माण भएको जलविद्युत आयोजनाको जेनरेटर र ट्रान्समिटर गत फाल्गुन महिनामा बिग्रिएको हो । लघु जलविद्युत अवरुद्ध हुँदा पाँच गाउँबस्तीका नागरिक विजुलीविहीन भएका छन् । बिजुलीबाट सङ्कलन भएको महसुलले २ जना अर्पेटर र लेखापालको सेवा सुविधामा खर्च हुने गरेको बस्नेतले बताए । स्थानीय सरकारले जेनरेटर र ट्रान्समिटर मर्मत गर्ने आश्वासन दिए पनि पुरा नभएको उनको भनाइ छ । जेनरेटर मर्मत गर्न करिब ७ लाख भन्दा बढी रकम लाग्ने सचिव बस्नेतले बताए ।
वडाध्यक्ष अर्जुनकुमार महताराले लघु जलविद्युत निर्माणका लागि स्थानीय सरकारले ३ लाख विनियोजन गरेको बताए । साढे २ लाख खर्च भई सकेको उनको भनाइ छ । यस्तै नहर मर्मतका लागि १२ लाख रकम व्यवस्थापन गरिएको वडाध्यक्ष महताराले बताए । उक्त जलविद्युत मर्मतका लागि विनियोजन गरिएको ७ लाख मध्ये अहिले स्थानीय सरकारले रकम घटाएर ३ लाख मात्रै विनियोजन गरेकोले समस्या भएको वडाध्यक्ष महताराले बताए ।



