ब्राउन सुगर मुद्दाका फरार प्रतिवादी पक्राउ

जुम्ला । लागूऔषध (ब्राउन सुगर) सम्बन्धी मुद्दामा वारदातपछि फरार रहेका एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय जुम्लाले पक्राउ गरेको छ।


जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार चन्दननाथ नगरपालिका–१०, बोहोरागाउँ निवासी २६ वर्षीय बसन्त सार्कीलाई साउन १७ गते साँझ करिब ५ बजे प्रहरीले आफ्नै घरबाट पक्राउ गरेको हो। फरार रहेका उनको खोजीका लागि खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा उनलाई नियन्त्रणमा लिन सफल भएको जनाएको छ।


प्रहरीले पक्राउ परेका सार्कीलाई सम्मानित जिल्ला अदालत जुम्लाबाट ३ दिनको म्याद अनुमति लिई लागूऔषध (ब्राउन सुगर) मुद्दामा थप अनुसन्धान अघि बढाएको जनाएको छ।


जिल्ला प्रहरी कार्यालय जुम्लाले लागूऔषधविरुद्धको अभियानलाई प्रभावकारी रूपमा निरन्तर सञ्चालन गरिरहेको जनाएको छ। साथै, लागूऔषधसम्बन्धी कुनै पनि शंकास्पद गतिविधिबारे जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा सूचना दिन सर्वसाधारणसँग आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३ साउन १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस