
जुम्ला ः कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार उर्जा तथा जलस्रोत मन्त्री मंगल बहादुर शाहीले कर्णालीको समग्र विकासको लागि मेरो पहिलो प्रथामिकता रहेको बताएका छन् । शनिबार प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति जुम्लाले गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री शाहीले यस्तो बताएका हुन् ।
विशेषगरी माथिल्लो कर्णालीको विकासका लागि मन्त्रालयले विकासे कामलाई गति दिएर काम गरेको छ । कर्णाली राजमार्गको थप स्तर उन्नति गर्नेका लागि प्रदेश सरकारले संघीय सरकारलाई समन्वय र सहकार्य मार्फत काम गरेको उनले बताए ।
प्रदेश सरकारले भौतिक पुर्वाधार मन्त्रालयबाट यहाँका सडक निर्माणलाई बजेट समेत विनियोजित गरी प्रदेशका १० वटै पुर्वाधार विकास कार्यालयबाट काम भइरहेको मन्त्री शाहीको भनाइ छ ।
टुक्रे योजनाका कारण कर्णालीको विकास हुन सकेको छैन । नेताको पावरले छुटाउने बजेटलाई अन्त्य गरी नागरिकको पहुँचसम्म पुग्ने र दीर्घकालीन राहत हुने योजनालाई मन्त्रालयले विशेष प्रथामिकतामा राखेर काम गरेको भौतिक पूर्वाधार उर्जा तथा जलस्रोत राज्य मन्त्री उर्मिला विश्वकर्माले बताइन् ।
कर्णालीका पत्रकारका लागि प्रदेश सरकारले आवश्यक सहयोग समेत गरेको छ । साविको माथिल्लो कर्णाली क्षेत्रबाट काम गर्ने पत्रकारका लागि मन्त्रालयले चाहिने सहयोग गर्ने तयार रहेको राज्यमन्त्री विश्वकर्माको भनाइ छ । पत्रकारले आफ्नौ धर्म र कर्तव्य निर्वाह गरी तथ्यमा आधारित समाचार संकलन गरेर सम्प्रेषण गरी जनमानसमा राम्रो सन्देश जगाउन उनले सुझाइन् । सत्यतथ्य समाचार उठान गर्न आजको पत्रकार जगतको महत्वपूर्ण भुमिका रहेको पुर्व पशुपन्छी विकास मन्त्री गोमा गौतमले बताइन् ।
पत्रकारको हक अधिकार सुनिश्चित गर्ने र पत्रकार क्षेत्रमा लागेकालाई दिगोपन दिन र उनीहरूको क्षमता अभिवृद्धि गर्ने प्रदेश सरकारले सहयोग गर्न अति आवश्यक रहेको प्रेस सेन्टर नेपाल जुम्लाका अध्यक्ष विजय रावतले बताए ।



