साउनको पहिलो दिन अर्थात साउने संक्रान्ति । खेती–किसानीमा आधारित ग्रामिण समाजका लागि विशेष दिन । यस दिनलाई ‘लुतो’ फाल्ने दिनको रुपमा लिन्छ ।
साउने संक्रान्ति सबैतिर मनाइने भएपनि यसका विधि एवं प्रक्रियामा एकरुपता पाइदैन । धेरैजसो भेगमा भने यस दिन आफ्नो खेतबारीमा उत्पादन भएका वा पाकेका फलफूल चढाउने, कतिपय औषधिजन्य वनस्पतिलाई घरमा सजाउने गरिन्छ । त्यसपछि ‘उपियाँ जा, रुपियाँ आइजा, अनिकाल जा सुविकाल आइज’ भन्दै अगुल्टो फ्याक्ने प्रचलन छ । वर्षायामसँग हैजा, घाउ–खटिराको भय हुने भएकाले साउने संक्रान्तिमा यी सबै हटोस् भनेर कामना गरिन्छ ।
कृषिप्रधान देशमा ’मानो खाई मुरी उब्जाउने’ भन्ने कथन अनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाने चलन छ । साउने संक्रान्तिको दिन असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ । यसो गर्नाले लगाईएको खेतिपातिको राम्रो फल पाईने र दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वास गरिन्छ । अतः खेती–किसानीको काम पुरा भएसँगै सरसफाई गर्ने र हात एवं नङमा मेहेन्दी लगाइन्छ ।
ज्योषित विज्ञान अनुसार
ज्योषित विज्ञान अनुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशीमा प्रवेश गर्छ । त्यही कारण यस दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । यस दिनदेखि सूर्य उत्तरी गोलाद्र्धबाट दक्षिणी गोलाद्र्धतर्फ लाग्ने भएकाले दिन छोटो र रात लामो हुँदै जान्छ । सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ ।
धार्मिक अस्थाको हिसाबले
धार्मिक आस्था राख्नेहरुले यस महिनालाई पवित्र मान्ने गर्छन् । यस अवधिम स्नान, होम, श्रद्धा, दान जस्ता काम गर्नु लाभदायक हुने विश्वास छ । साउनको पहिलो दिनदेखि नै सौभाग्यको प्रतिक र वस्त्र पहिरिने गरिन्छ । भगवान शिवको पूजा आराधना गरिन्छ । उपवास एवं ब्रत बसिन्छ । मासुजन्य एवं तामासी भोजन त्याग गरिन्छ । शरीरलाई शुद्ध गरेर मनलाई भक्ति–भजनमा लगाइन्छ ।
शारीरिक सरसफाई र संस्कार
बिशेष गरि कर्णाली प्रदेशका बिभिन्न जिल्लाहरुमा पशु पालन व्यबसाय भएकाले पशुवस्तुसँग महिनौ दिन टाढा रहेका घरपरिवारको भेटघाट गरि नुहाई धुवाई सरसफाई साथै खानपिन र खुसियाली साटासाट गरिन्छ । आज साउने संक्रान्तिकै दिनमा लगाउनका लागि प्रत्येक परिवारलाई नयाँ कपडा फेरिन्छ । आज नयाँ कपडा फेर्न नपाए खल्लो मानिन्छ । किसानका छोराछोरीहरूले आफ्नै मातृभाषामा ’सङ्क्रान्ति जाऊ, मङ्ग्रान्ति आऊ; अनिकाल जाऊ, सहकाल आऊ’ भन्ने आदि भावमा ’अनिकाल वा दुःख–पीडा’लाई पर्वको रूपमा मनाउँदै खेदाएर रमाउने गर्छन् । यसैगरी, उनीहरूले घरपरिवारमा रहेको बाझोजुझो, गाउँघरमा रहेको सामाजिक–साँस्कृतिक विकृति–विसंगति र सिङ्गो राष्ट्रमा व्याप्त राजनैतिक अस्थिरता, द्वन्द्व र अशान्ति आदिको अन्त्यको कामना र प्रार्थना गरेका शब्द भावहरू पनि प्रकट गर्दै सङ्क्रान्तिसँगै खेदाउन घरमुलीहरूले आग्रह गर्छन् ।
मगरहरूले साउने सङ्क्रान्ति र माघे सङ्क्रान्तिलाई महान पर्वको रूपमा मनाउने गर्दछन् । साउने सङ्क्रान्तिलाई ’हिउँद लाग्यो, अब बाँचिन्छ र राम्रो हुन्छ’ भनी मनाउँछन् भने माघे सङ्क्रान्तिलाई ’वर्षा लाग्यो अब मरिन्छ कि बाँचिन्छ’ भनी मनाउने गर्दछन् । अथात् माघे सङ्क्रान्ति मरिन्छ कि भनेर मनाउने हो भने साउने सङ्क्रान्ति लौ बाँचियो भनेर मनाउने हो । त्यसैगरी, तमु–गुरुङ, बरामु, माझी, जिरेल, छन्त्याल, याक्खा, सुनुवार आदि जातिले पनि आफ्नै तरिकाले साउने संक्रान्ति मनाउने गर्दछन् ।
तर आजका दिनमा जूवातासमा जोड दिने बिभिन्न समुहमा मध्यपान जाँड रक्सिको अत्यधिक प्रयोगले शारिरिक तथा समाजिक रुपमा असर परेको देखिन्छ । स साना उमेर देखि बुढ्यौली उमेर समुहकाले जाँड रक्सि तथा अन्य अस्वस्थकर खान पिन प्रयोग गर्ने आजको दिनले एक स्वास्थ्यका हिसावले राम्रो संकेत दिन छोडेको छ । कतिपय ठाउमा त आज एक अर्कामा झै झगडा र कुटपिट ले ठुलो रुप नै लिन्छ । आज विशेष गरि सबै अविभावकबाट आफ्ना सन्ततीहरुलाई खुसिका लागि छाडा गरिन्छ तर त्यसले अर्कै घटनाको रुप लिन्छ । हाल पछिल्लो समयमा जाँड रक्सिको अत्यधिक सेवन र लतले बिभिन्न रोग निम्ति धेरै जनाको ज्यान जाने गरेको छ ।
साथै आज प्रयोग गरने चिल्लो पिरो तथा मासु जन्य खानपिन लाई स्वास्थ्य अवस्था हेरि प्रयोग गर्नु पर्दछ । समाजमा मनाईने हरेक चार्ड पर्वको जगेर्ना गर्दै स्वास्थ्यमा हानि नपुर्याई मनाउनु आजको आवश्यकता हो ।
(बलि बहादुर बुढा, जनस्वास्थ्य निरीक्षक, मुगुमकार्मारोङ गाउँपालिका मुगु)



