हिन्दु नारीको विशेष पर्व हरितालिका तिज नेपाली सस्कार र सस्कृतिको मौलिक परम्परागत पर्व हो । नेपालमा भएका अन्य पर्व भन्दा भिन्न अर्थ र परम्परागत महत्व बोकेको तीज पर्व आफैमा विशेष छ । जसरी असार मा असारे भाकाबाट आफ्ना कथा सुनाउने दिदिबहिनीहरु तीज पर्वमा गाउने तीज गित मार्फत आफ्ना दुखका कथाहरु भाका हालेर सुनाउने गर्छन ।
तीज पर्व भन्ने बित्तिकै दाजुभाई आफ्ना दिदीबहिनी लिन जाने र दिदी बहिनीलाई माइत लिएर आएर चोखो मीठो मसिनो दर खुवाउने भनेर बुझिन्छ । माइत आएका दिदीबहिनीको भेटघाटमा रमाइलो गर्दौ दर खाने अवसर मात्रै नभएर एकले अर्काको आत्मियता चेली र माइतीको हार्दिकता साट्ने पर्व पनि हो तीज ।
विभिन्न रङ्गीचङ्गी कपडामा सजिदै चुरापोते र शृङ्गारका सामग्रीले आफुलाई सिगार्दै आफ्नो पतिको दिर्घायुको लागि उपवास बस्ने प्रचलन पनि तीजमा रहेको छ । खाने गाउने नाच्ने भेटघाट गर्ने रमाइलो गर्ने त छदैछ निरहार व्रत बसी आफ्नो सिन्दुरको दीर्घायुको कामना गर्ने गरिन्छ । गाउमा लाग्ने तीज को मेलामा गएर नाचगान हेर्दै विभिन्न खाने कुरामा रमाउने प्रचलन पनि तिजमा छ ।
हामिले सुन्दै आएका चेलिका कथाहरु मध्य दिदी लिन भाइ जादा दिदी ल्याउन नपाउनुका गित हरु ले भावुक बनाउने देखि दाजु भाइ नहुनु को पीडा महसुस गरेका दिदी बहिनी का दुखका गित हरु पनि सुनेका छौ । घरमा खेती किसान गरेर बसेकी दिदी त्यो घर को बुहारी कम, कमारी धेरै भएको देखेको भाइ रुदै फर्केका कहानी हरु ले धेरै दिदी बहिनिको मन अझै पनि भक्कानिने गर्छ । आफ्ना छोरी हरु माइत आउछन भनेर आफ्नि बुहारी माइत नपठाउने सासू सम्मका कथाहरु तिज ले बोल्ने गर्थ्यो ।
तर अहिले तिज ले आफ्नो परम्परागत स्वरुप बदलेको छ । चेलीमाइती बीच सुमधुर सम्बन्ध राख्ने, माइतघर जाने, आमाले पकाएको दर का परिकार खानेभन्दा पनि पार्टी प्यालेसमा भोजभतेर आयोजना गर्ने, अघोषित रूपमा गरगहना, पहिरनमा प्रतिस्पर्धा गर्ने, मासुमाछा र मदिराजन्य परिकार खाने प्रवृत्ति बढ्दो छ । आधुनिक तिजलाई पछ्याउनेहरु दारु लाई मात्रै दर मान्ने गरेको पनि देखिन्छ । नेपाली मौलिक गित हरु मा भन्दा अन्य देशका आयातित सङ्गीत हरु मा बेहोसि अवस्थामा नाच्नु र त्यसैलाइ स्वतन्त्रता मान्नु अनि त्यसैलाइ तिज को रमाइलो भन्ने समूह बढ्दो छ ।
हिजो घाँस दाउरा बन जङ्गल गोठको काम खेतको काम ले फुर्सद नपाउने दिदी बहिनिको कहानी र अहिलेका दिदी बहिनिको कहानी फरक भएर होला भोगाइ फरक भएर होला अहिलेका बजारिया दिदी बहिनिको तिजमा रमाइलो गर्नु तिज को अशोभनिय परिवर्तनको स्वरुप हो ।
के छ तिजको इतिहास ?
हरितालिका तीजको रौनकले नेपाली दिदी बहिनीको दैनिकीलाई छोइसकेको छ । आलोपालो गर्दै दर खाने प्रचलन बढिरहेको छ । के शहर के गाउँ बादलु को घुम्टोले इलाम बजार छोपिए जस्तै छपक्कै छोपेको छ ।
बास्तबमा तिज यहि मिति देखि सुरु भयो भनेर एकिन गर्न त सकिँदैन तर यो उत्तर भारत तथा नेपाल को पौराणिक काल देखि एउटा सस्कारका रुपमा चलीआएको देखिन्छ । उत्तर भारतका केहि समुदाय मा यो पर्व मनाउने चलन पनि छ तर मौलिक रुपमा भने बिकास हुन सकेको छैन । तर नेपाली जनजीवनको सामाजिक, धार्मिक, सांस्कृतिक लगायतका पहिचान व्यक्त गर्ने गरि यो पर्व स्थापित भएपछी नेपाली महिलाहरूको इतिहासलाई यो पर्वले विभिन्न रूपमा प्रकट गरेको देखिन्छ ।
धार्मिक शास्त्रमा उल्लेख गरे अनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भई महादेव पति पाएको दिनलाई हिन्दू नारीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन् । पार्वतीले महादेवलाई श्रीमानका रूपमा पाउन १ सय ७ जन्मसम्म घोर तपस्या गरे पनि १ सय ८ औं जन्ममा मात्र उनको तपस्या पूरा भएको कुरा केही शास्त्रहरूमा बताइएको छ । यही मान्यतालाई अनुशरण गर्दै विवाहित महिलाले आफ्ना श्रीमानको दीर्घायु एवं अविवाहित महिलाले सुयोग्य वर पाऊँ भनी तीजको व्रत बस्ने नेपाली चलन छ ।
सामाजिक महत्व
कृषिमा आधारित नेपाल को जनजीवन आफ्नो बाली नाली रोपिसके पछि केही फुर्सद को समयमा पर्ने पर्व हो तिज । धान रोपेर हिलोले खाएका हात खुट्टामा मेहेन्दी लगाएर निको पार्दै र सजिदै आफ्नो दुख बिसाउने पर्व हो तिज ।
माइतीबाट बाबु वा दाजुभाइ गएर छोरीचेलीलाई भेट्ने र सकेसम्म माइती लिएर र्फकने प्रचलन छ जसले माइती चेलीको आपसी सम्बन्धलाई मजबुत बनाउँछ । विवाह भएर टाढा पुगेका दिदीबहिनीबीच भेट गराएर यो पर्वले उनीहरूको मन हलुका पार्न र सुख–दुस्खका कुराकानी गर्ने अवसर समेत जुटाइदिन्छ ।
सामाजिक एकता र आपसी सद्भाव कायम राख्न तिजले ठूलो भुमिका खेलेको हुन्छ । समाजका रहेका विभिन्न खराब चिज हरु लाई गित मार्फत उठाएर त्यस बिरुद्ध अवाज उठाउने समयका रुपमा पनि दिदी बहिनी ले लिने गर्दछन । समाजका घट्ने अपराध लैङ्गिक विभेद जातिय विभेद तथा सामाजिक कुरुती बिरुद्द महिला हरुले गित मार्फत सुधारका लागि सान्केतिक बिरोध गर्ने गर्दछन ।
सांस्कृतिक महत्व
हाम्रो समाज पछिल्लो समय आधुनिकताको नाममा पस्चिमा सस्कृतिलाइ अङ्गाल्दै जाने प्रचलन बड्दो छ ।अरुको सिको गर्ने र आधुनिक देखिने शैलिको बिकास ले आफ्ना धर्म सस्कार र सस्कृतीहरु मासिदै गएका छन अझ भनौ अपभ्रम्स हुँदै गएका छन । तर मानिस ले आफ्नो माटो र आफ्नो सस्कृती को सुगन्ध भने बिर्सेको हुदैन ।
हिन्दू समुदायका महिला हरु बिच मनाउने तीज पर्वलाई अहिले अन्य जाति र समुदायले पनि मनाउन थालेको पाइन्छ । तीजलाई महिलाको रमाइलो पर्वका रूपमा समेत लिइने भएकाले पुरुष पनि उनी हरु लाई यो पर्व मनाउन सहयोग गर्दै सहभागी भएको देख्न सकिन्छ । के महिला के पुरुष अहिले अधिकार र कर्तब्य बराबर भने झै उनी हरु सगै सगै यो पर्वमा मिसिएर बगेको देखिन्छ । कामबाट फुर्सद निकाल्दै आफ्ना परिवार, साथीभाइ जमघट, घुमघाम, नाचगान यो पर्वको अर्काे विशेषता बन्दै गएको छ ।यो बर्ष बिष्नु माझीको आइन आमा म यो तिजमा लगायतका गितहरु जता ततै घन्किएका छन। कर्णाली बिभिन्न ठाउँका मौलिक संस्कृति कला संग समायोजन गर्दै मनाउनु आवश्यक छ ।
तीजका गीतमा छोराछोरीबीचको विभेद, पीडा, सासूबुहारीको कचकच, दुस्ख, ईष्र्या आदि विषय समावेश हुन्थे तर अहिले तीज गीतका विषय पनि परिवर्तन भएका छन् । सांस्कृतिक मान्यतास्वरूप महिलाहरू गीत गाउँदै नजिकैको मन्दिर वा समूहमा भेला भएर विभिन्न भाकामा तीजका लय गुञ्जाउँछन् ।
चुल्हो–चौको एवं घरधन्दाको व्यस्ततामै अल्झिएका अधिकांश महिला तीजमा मन खोलेर आफ्नो व्यथा पोख्छन् । अन्य समयमा घर बाहिर निस्कन नसकेका दिदी बहिनी यो समयमा आफ्ना पारिवारिक भेटघाट लाई समय मिलाउछन । तर अहिले सबै नेपाली नारीको घरमा यस्तो अवस्था छैन । टोलटोलमा समूह बनाएर एक महिनाअघिदेखि नाचगान र खानपिनका कार्यक्रम संचालन गर्ने गर्छन ।
कतिपय संघसंस्थाले तीज प्रतियोगिता पनि आयोजना गर्छन् । यसले तीजको खास अर्थ र महत्वलाई मारेको मात्र छैन, संस्कार र संस्कृतियुक्त तीजलाई भड्किलो र उत्ताउलो बनाउँदै लगेको छ । यद्यपि तीजको संस्कृति अन्य जात वा समुदायका महिलामा पनि प्रवेश गर्नु राम्रो कुरा हो ।
अन्तमा तिज हाम्रो मौलिक पर्व हो । तिज जस्तै हाम्रो नेपाली सस्कारमा अन्य धेरै पर्वहरु छन । जसलाइ विभिन्न समुदयले आफ्नो धर्म अनुसार कर्म गरेर मनाउने गर्छन । हाम्रा आउने पुस्ताका लागि हाम्रा चाडपर्वको गरिमा अस्तित्व र मौलिकता जोगाइरहनु हाम्रो कर्तब्य हो । घाँटी हेरेर हाड निल्नु भन्ने उखान नेपाली रहनसहन मा सुहाउदो उखान हो ।आफ्नो गक्ष अनुसार ले चाडपर्व मनाएर पारिवारिक खुशी कायम राख्दै समाज लाई सभ्य दिशा तर्फ लैजानु पनि हाम्रो पुस्ताको दायित्व हो ।
हामी हाम्रा अग्रज हरु ले दिएको सस्कार लाई अङ्गाल्दै अर्को नया पुस्ता लाई चाडपर्वका मौलिकता हस्तान्तरण गर्दै जानू पर्छ । कुनै पनि कुराको मर्म मरेमा त्यो बिषय नै हराउदै जान्छ । हामी बिच बाट हाम्रा धेरै मौलिकता हरु मासिदै गएका छन । हाम्रो मौलिकता नै हाम्रो गौरब भएकाले यो मौलिकतालाइ बचाउने प्रण को सन्देश दिदै सबै दिदी बहिनी आमा हरु मा हरितालिका तिजको हार्दिक शुभकामना । साथै नेपालका महिलाहरु अधिकांस स्वास्थ्य कर्मी ,शिक्षक तथा अन्य पेशा र रोजगारीको ब्यस्ततालेपरदेशमा रहदा तिज दुख ब्यक्त गर्ने क्षण मात्रै बन्दछ त्यसै जहा जे अवस्था छ त्यसै अनुसार तिज पर्वलाइ मनाउने गर्नु जरुरि छ । हाल बिशेष गरि महंगा गरगहना पर्दशन गर्ने पर्तिस्पर्धा गर्ने चलन पनि निरुत्साहित गर्नु जरुरी छ ।
(लेखक बुढा मुगुम कार्मारोङ गाउँपालिका स्वास्थ्य शाखा मुगुका जनस्वास्थ्य निरीक्षक हुन्)