जुम्लामा स्याउकाे उत्पादन बढ्दा,खाद्यान्न उत्पादन घट्याे (चार वर्षकाे तथ्यांक सहित)

जुम्ला । कर्णाली समृद्धिको प्रमुख राष्ट्रिय आधारमध्ये एक हो कृषि क्षेत्र । कृषिमा आत्मनिर्भर कर्णालीलाई प्रदेश सरकार र यहाँका ७९ वटै स्थानीय तहले आवश्यकतामुखी राष्ट्रिय कार्यक्रम र लगानी बढाउन सके आयात प्रतिस्थापन गर्नसक्ने सम्भावना छ ।

उत्पादन बढाउने नीति उत्पादित वस्तुको बजार अभावले कर्णालीका खाद्यान्नबाली निर्यात हुन सकेको छैन । आफ्नै उत्पादनले ५/६ महिना नपुग्ने कर्णाली आयातमै निर्भर छ ।

कृषिमा निर्भर कर्णालीको जुम्ला जिल्ला रैथानेबाली उत्पादनको केन्द्र हो । जुम्ला १४औं जिल्ला परिषद्बाट अर्गानिक जिल्ला घोषणा गरिएको थियो । अर्गानिक जिल्ला घोषणापछि जुम्लामा उत्पादित कृषि उपजको माग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएको छ ।

तर उत्पादन भने वर्षेनि घट्दै गएको तथ्यांकले देखाउँछ । जिल्ला कृषि विकास कार्यालयको तथ्यांकलाई हेर्दा जुम्लामा रैथाने बालीको उत्पादन घट्दै गएको हो । यस वर्ष जुम्लामा २४ हजार मेट्रिक टनमात्रै खाद्यान्न बाली उत्पादन भएको छ ।

जबकि गत आर्थिक वर्ष २०८०/०८१ मा ३२ हजार मेट्रिक टन खाद्यान्न उत्पादन भएको थियो । गत वर्षको तुलनामा झण्डै आठ हजार मेट्रिक टन उत्पादन घटेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको जुम्ली मार्सी धानको उत्पादन भने २०७९ को बेमौसमी बाढीले १८ हेक्टर मार्सीफाँट बगर बनेपछि घट्दै गएको छ ।

बाढी गएको तीन वर्ष बित्दा पनि मार्सी फल्ने खेतमा भरिएको बालुवा पन्छाउन स्थानीय तहले चासो नदिँदा धान उत्पादन घटेको छ ।

कार्यालयका सूचना अधिकारी दिपक सिंह धामीका अनुसार यस वर्ष जुम्लामा पाँच हजार ९८७ मेट्रिक टनमात्रै धान उत्पादन भएको छ । जबकि गत आर्थिक वर्ष जुम्लामा ६ हजार ९३० मेट्रिक टन धान फलेको थियो । आव २०७९/०८० मा ६ हजार ६७० मेट्रिक टन धान उत्पादन भएको सूचना अधिकारी धामीले बताए ।

उनले भने, ‘०७९ को बाढीले बगर बनेको १८ हेक्टर क्षेत्रफल जमिनलाई उपभोग गर्नतर्फ ध्यान दिन जरुरी छ । नभए अरु बालीभन्दा धान उत्पादन घट्ने देखिन्छ । साथै पछिल्ला वर्षमा अज्ञात रोगका कारण पनि उत्पादन घटेको हो ।’

चालु आवमा मकै १० हजार पाँच सय मेट्रिक टन, कोदो तीन हजार ८५० मेट्रिक टन, जौ तीन हजार ५१५ मेट्रिक टन, फापर ११० मेट्रिक टन, उवा १५ मेट्रिक टन, चिनो २४० मेट्रिक टन र कागुनो १४ मेट्रिक टन उत्पादन भएको छ । त्यस्तै दलहन बालीतर्फ सिमी, भटमास, गहततर्फ चार हजार ६० मेट्रिक टन उत्पादन भएको छ ।

“आर्थिक वर्ष २०७८/७९ देखि आ.व २०८१/८२ सम्मकाे तथ्यांकलाइ हेर्दा जुम्लामा खाद्यान्न बालीकाे उत्पादन निरन्तर घटीरहेकाे छ । भने स्याउकाे उत्पादन वर्षेनिक बढीरहेकाे तथ्यांकले देखाएकाे छ ।”

कुन वर्षमा कति उत्पादन ?
जुम्लामा विगत चार वर्षको उत्पादनलाई हेर्दा फलफूलतर्फ स्याउ उत्पादन बढे पनि  खाद्यान्न बाली उत्पादनमा भने गिरावट आएको छ ।

कृषि विकास कार्यालय जुम्लाको तथ्यांकअनुसार जुम्लामा चालु आर्थिक वर्ष २०८१/०८२ मा २४ हजार २३१ मेट्रिक टन रैथाने बाली उत्पादन भएको छ । गत आव २०८०/०८१ को तुलनामा यस वर्ष आठ हजार मेट्रिक टन खाद्यान्न बाली कम उत्पादन भएको छ ।

जबकि २०८०/०८१ मा ३२ हजार ८४५ मेट्रिक टन खाद्यान्न बाली उत्पादन भएको सरकारी तथ्यांक छ । त्यस्तै आर्थिक वर्ष २०७९/०८० मा भने ३० हजार ८२८ मेट्रिक टन खाद्यान्न बाली उत्पादन भएको थियो । त्योभन्दा अघिल्लो वर्ष २०७८/०७९ मा १५ हजार मेट्रिक टन खाद्यान्न बाली उत्पादन भएको तथ्यांक छ ।

गाै बिस्कुन सुकाउदैं ताताेपानी-७ बारागाउँकी महिला । तस्बिर: कर्णाली मिसन

चार वर्षको तथ्यांकलाई हेर्दा उत्पादनको अवस्था घटबढ भए पनि यस वर्ष भने दुई वर्षयताकै उत्पादन घटेको छ । जुम्लाको आर्थिक समृद्धि र किसानको जीविकोपार्जनसँग जोडिएको स्याउ उत्पादन भने बढ्दै गएको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा १६ हजार मेट्रिक टन स्याउ उत्पादन भएको जुम्लामा आव २०७९/०८० मा १८ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।

त्यस्तै, आ.व २०८०/०८१ मा १९ हजार ८४० मेट्रिक टन उत्पादन भएको थियाे । भने चार वर्ष यताकै सबैभन्दा बढी चालु आ.व २०८१/०८२ मा स्याउ उत्पादन बढेकाे छ ।

चार वर्ष यताकै बढी चालू आवमा २१ हजार २७० मेट्रिक टन स्याउ फलेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताए । उनका अनुसार स्याउ निर्यातबाट जुम्लामा यस वर्ष ६१ करोड रुपैयाँ भित्रिएको छ ।

विगतका वर्षको तुलनामा फापर, कोदो, मकै, उवा, चिनो, कागुनोलगायतका रैथानेबालीको उत्पादन घटेको छ । यद्यपि, माग भने बढेको बढ्यै छ ।

निर्यातका लागि स्याउ प्याकिङ गर्दै पातारासीका किसान दम्पत्ती । तस्बिर: कर्णाली मिसन ।

जुम्लाको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले अर्गानिक मिनि मार्केट सञ्चालन गरे पनि रैथानेबालीको माग पूरा गर्न नसकिएको सञ्चालक ऋषिराम पाण्डे बताउँछन् । सरकारी तथ्यांक हेर्दा जुम्ली रैथाने बाली उत्पादन घट्दै गएको र परनिर्भरता बढ्दै गएको स्पष्ट छ ।

युवालाई कृषिमा प्रेरित गर्ने नीति नहुनु, तीनै तहका सरकारले कृषिमा पर्याप्त लगानी नगर्नु, जलवायु परिवर्तनले उत्पादन घट्नु र प्राकृतिक प्रकोप बालीमा क्षति गर्नुलगायतका कारणले खाद्यान्न उत्पादन घट्दै गएको जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख अधिकारीको भनाइ छ ।

उनले भने, ‘विगतको तथ्यांक हर्दा दोब्बरले रैथाने बाली उत्पादन घटेको छ । केही वर्ष बढेको छ । अधिकांश किसान कम परिश्रम गरेर रासायनिक मल प्रयोग गरी धेरै उत्पादन गर्ने दाउमा छन् । जसले रैथानेबाली उत्पादन घट्दै गएको हो ।’

प्रकाशित मिति : २०८१ माघ २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस