जुम्ला ।जुम्लाबाट २०६४ देखि २०७४ साल सम्मको निर्वाचनमा संघ प्रदेश देखि स्थानीयतहमा निर्वाचित हुने नेताले तातोपानी १ बाईराँका गाउँमा खानेपानी पु-याउने विषयलाई मुख्य एजेण्डा बनाए । सोहि अनुसार निर्वाचित भएको केही महिनामा घरघरमा धारा जडान गर्ने बाचा गरेपनि गाउँमा पानी पुगेन् ।
खाली राजनीति गर्नका लागि बाइराँका गाउँमा पानी पु-याउने विषय नेताहरुले ढालका रुपमा बाइराँकाबासीलाई प्रयोग गरे । २०६४ सालको संविधानसभा निर्वाचनमा सांसद उठेका नरेश भण्डारीले बाइराँका गाउँमा खानेपानी पु-याउने आश्वासन दिएर भारी मत ल्याएर विजयी भए ।
तर जितिसकेपछि एकदिन पनि फर्केर त्यो गाउँमा नगएको स्थानीय राजेन्द्र शाहीले गुनासो गरे । दाेस्राे पटक २०७४काे चुनाव जितेर नरेश भण्डारी कर्णाली प्रदेशका कानुन मन्त्री समेत भए । तर बाहिराँका गाउँमा पानी पुगेको छैन् । भण्डारीले पानी पुराउन कुनै पहल गरेकाे देखिएन् ।
त्यसपछि २०६८ सालको आम निर्वाचनमा जुम्लाबाट प्रत्यक्ष निर्वाचित नेपाली काँग्रेसका सांसद ललितजंग शाहीले पनि बाइराँकामा पानी पु-याउने भन्दै भोट लिए । तर नदीकै दुषित पानी पिउनुपर्ने बाइराँका स्थानीयले बाध्यता हटेन ।
चुनावमा मात्रै हरेक पाटीका घोषणापत्रमा प्रथामिकतामा पर्ने बाइराँका गाउँको खानेपानी समस्या निर्वाचनपछि सबैको उपेक्षामा पर्ने गरेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा बाइराँबासीले पानी दिनेलाई भोट भनेर नारा लगाए ।
२०७४ काे चुनावमा संघमा माओबादिका गजेन्द्र बहादुर महत कार्मा र ताताेपानी गाउँपालिका अध्यक्षमा नवराज न्याैपाने निर्वाचित भए । त्याे पाँच वर्षमा बाईराकाबासीकाे खानेपानी समस्या समधान हुन सकेन् ।
२०७९ काे निर्वाचनमा धेरै आशा जगाएर संघ चुनाव जितेका राप्रपाका ज्ञानेन्द्र शाहीले पनि निर्वाचित भएकाे एक वर्ष बितिसक्दा पनि बाईराकाकाे खानेपानी लगायत अन्य विकासमा कुनै सुधार भएकाे देखिन्न । प्रदेश (क) बाट स्वतन्त्र जितेर हाल काँग्रेसमै फर्किएका सांसद देवेन्द्र बहादुर शाहि पनि बाईराँकामा पानी पुराउन अनुदार छन् ।
विभिन्न चुनावमा बाईराँमा पानी पुराउने बाचा गरेर चुनाव जितेपनि आज सम्म बाईराँका गाउँका सयौ स्थानीय नदीकै दुषित पानी पिउन बाध्य छन् ।
पानी पुराउने याेजना ल्याउने त परै जावस खाईरहेकाे दुषित पानी शुद्दिकरण गर्ने,गाउँकाे सन्चाे विसन्चाे साेध्न बुझ्न चुनावपछि हालसम्म कुनै नेता बाईराँका पुगेका छैनन् ।
दूषित पानीको भरमा बाइराँकाबासी
बाह्रैमास पानीले काकाकुल ताताेपानी १ बाइराँकाका स्थानीय अहिले पनि तिलानदीको दुषित पानीको सहारामा बाँचिरहेका छन् । वर्खाकाे धुलाे माटाे मिसिएकाे पानी खादा पनि धन्न हामी बाँचेका छौं । रोग लागेको छैन ।
बाइराँका गाउँकी स्थानीय महिला छुमकली सार्कि भन्छिन, “बाइराँकामा पानी पुरायाउने आश्वासन २०६४ बाट हालसम्मका संघीय सांसददेखि स्थानीय तहका वडाध्यक्ष आश्वासन दिए । तर पानी पुगेन । जनसंख्या बढ्दै छ । पानीको स्रोत कतै छैन ।
तीनै तहका सरकार हाम्रा समस्याप्रति अनुदार देखिए । हाम्रो प्यासको कसैलाई मतलव छैन । संविधानले दिएको स्वच्छ पानी पिउने अधिकार नै कुण्ठित भएको छ ।”
वर्खा लागेसंगै पानी निकै दुषित भएकाेले शुद्दिकरण गर्नेबारे कुनै निकायले सहयाेग गरे आभारी हुने स्थानीय आशा छ ।
तातोपानी गाउँपालिका–१ बाइराँका गाउँका मिनबहादुर शाहीका पाँच दशक तिलानदीकै दुषित पानी पिएर बिते । अहिले गाउँमा लिफ्टमार्फत् पानी पुगे पनि पर्याप्त छैन । अझै खोलाकै पानीको भर छ ।
बाउ बाजेले खोलाकै पानी खाए, हामीले खायौं । उनले भने, “बाइराँका गाउँमा पानी पुर्याउने विषय चुनावी एजेण्डामात्र बन्यो । हाम्रो दैनिकी फेरिएन । हरेक चुनावमा हुने पानी राजनीतिले निकास दिन सकेन । तर पछिल्लो समय धौलिगाड आयोजना बन्ने कुराले उत्साहित छौं ।”
वर्खा लागेसंगै नदिकाे पानी पनि धमिलाे भैसक्याे । अब हामीसंग विकल्प छैन । कि अर्काे गाउँ पुगेर पानी ल्याउनु पर्याे कि त्यहि नदिकाे पानी पिउनु पर्ने बाध्यता छ ।
गाउँ नजिककै भएकाे एक ईनारबाट स्थानीयले दैनिक ४० लिटर मात्रै पानी उपभाेग गर्न पाउँछन् ।
छुमकली र मीनबहादुर जस्तै, बाइराँका गाउँका झण्डै १२० घरधुरी नै नदीको दूषित पानी पिउन बाध्य छन् । पानी पुर्याई दिने नाममा नेताले बाइराँकाबासीलाई भोट बैंकका रूपमा प्रयोगमात्रै गरे ।
स्थानीय वचन शाहीले भने, “गाउँमा पुगेको लिफ्टले प्रतिघरमा ४० लिटरमात्रै पानी भर्न मिल्छ । पर्याप्त खाने, सरसफाइ गर्ने पानी छैन । हिउँद वर्षामा बग्ने तिलाकै दूषित पानी हाम्रो सहारा हो । काकाकुल गाउँको प्यास मेटाउन धौलिगाडलाई सम्पन्न गर्न सबैले सहयोग गर्नुको विकल्प छैन ।”
स्थानीय सरकार सञ्चालन पछि बढेकाे डाजरे विकासले निम्त्याएकाे विनासले पानीका स्राेत सुक्दै गएका छन् । मुहान संरक्षणमा ध्यान कसैकाे छैन् । वनजंगलकाे बिनास त्यसरीनै भईरहेकाे छ । स्राेत संरक्षणमा ध्यान नदिदा र गाउँ नजिक स्राेत समेत नहुँदा बाईराँका पानी ल्याउछु भन्दैमा सम्भव नरहेकाे स्थानीय यूवा विरेन्द्र शाहीले बताए ।
डाेजरे विकासकै कारण विगका वर्षमन पानी आउने मुहान सुक्न थालेका छन् । पानीले काकाकुल बाईराका गाउँका नागरिक धाैलागाड खानेपानी आयाेजनाले आफ्नाे तिर्खा मेटाउने आशामा छन् ।
तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चाैलागाई काकाकुल बाइराँका गाउँमा पानी पुर्याउने पालिकाको पहिलो प्राथमिकता रहेको बताउँछन्
“बाइराँकामा पानी पुर्याउन पालिकाबाट प्रयास नभएका हैनन् । हिजाेदेखि हाल सम्म प्रयास जारी छ । तर विविध कारणले उपलब्धि देखिएन,” उनले भने “साना टुक्रे योजना बनाएर दिगो समधान हुँदैन ।
बाइराँकाबासीको समस्या समाधान तथा तीन पालिकाका नागरिकलाई शुद्ध पानीको पहुँच पुर्याउन धौलिगाड आयोजना कोशे ढुंगा सावित हुनेछन् । निर्माण प्रक्रियामा सबैले सहज वातारवरण बनाउनु पर्छ । त्यसका लागि पालिकाले पनि लगानी गरेकाे छ ।”
बाइराँकामा वर्षौंदेखि चल्दै आएको पानी राजनीति अब धौलिगाड आयाेजनाले मात्र अन्त्य गर्नेमा अध्यक्ष चाैलागाईकाे भनाई छ ।
दाेस्राे मेलम्ची उपनाम पाएकाे बृहत्त धाैलिगाड छिटै बन्ला र बाईराँकामा पानी पुग्ने आशामा नागरिक छैनन् ।