![](https://karnalimission.com/wp-content/uploads/2023/07/KTS-Jumla-copy.jpg)
जुम्ला । २०३७ सालमा स्थापना भएको मुलुककै जेठो कर्णाली प्राविधिक शिक्षालय राज्यको उपेक्षामा पर्दै आएको छ । सञ्चालनको करिब चार दशक बढी समय बित्दा पनि शिक्षालय पुरानै जीर्ण भौतिक संरचनाको भरमा चलेको छ । प्राविधिक शिक्षा प्रति विद्यार्थीको मोह बढ्दै गएको छ । तर प्राविधिक शिक्षा आर्जनको जननीका रुपमा रहेको कर्णाली प्राविधिक शिक्षालयको बृद्धि विकासमा संघियता पछि पनि संघिय र प्रदेश सरकार अनुदार देखिएका छन् ।
बितेको चार दशकमा कर्णाली प्राविधिक शिक्षालयबाट ६ हजारबढी दक्षजनशक्ति उत्पादन भईसकेका छन् । शिक्षालयबाट उत्पादित दक्ष जनशक्ति राज्यका विभिन्न उच्च ओहोदामा मात्र पुगेका छैनन् । मन्त्रीदेखि सांसद सम्म भएका छन् । भने शिक्षालयमा वर्षेनी राज्यका उच्च पदस्थ व्यक्ति समेत आएर शिक्षालयको बृद्धि विकासलाई प्रथामिकता दिने आश्वासन दिन्छन् ।
तर ४३ वर्ष पुराना संरचनाकै भरमा शिक्षालय सञ्चालन हुन बाध्य छ । चुहिने चाना भित्रै छात्राबास सचेका छन् । तर प्रमुख सहितको टिमले जेनतेन शिक्षालयलाई सञ्चालन गर्दै आएका छन् । शिक्षालय प्राविधिक जनशक्ति उत्पादनको उद्गम स्थल हो ।
शिक्षालयका प्रमुख टेकेन्द्र थापा भन्छन,“हाल शिक्षालयमा ५८ वटा भवन छन् । सबै चुहिने र भत्कीन थालेका छन् । करिब साढे ६ सय बढी विद्यार्थी अध्यायनरत छन् । विद्यार्थीको चाप त्यत्तिकै बढ्दै छ । तर शिक्षालयको स्तरबृद्धि संघ प्रदेशको नीति कार्यक्रम र बजेटमा कहिलै प्रथामिकतामा पर्दैन् । राज्य शिक्षालयको स्तरबृद्धिमा सधै अनुदार देखिन्छ ।”
शिक्षालयको अबस्थाबारे संघ प्रदेशका मन्त्री,सांसद देखि स्थानीय जनप्रतिनिधिलाई अवलोकन नगराएको पनि हैन । तर आश्वासन र प्रतिबद्धतानुसार शिक्षालयमा बजेट विनियोजन हुन सकेको छैन् । प्रमुख थापाले भने,“जीर्ण भवनमा कोचिएर २५० जना विद्यार्थी बस्न बाध्य छन् । जीर्ण भवन कुनै बेला भत्किएको खण्डमा २५० जना विद्यार्थीको जीवन जान सक्छ । राज्यले जीर्ण संरचनाको स्तरबृद्धिमा ध्यान नदिने तर दुर्घटनापछि हेलिकप्टर लिएर उद्धार गर्न आउनुको औचित्य छैन ।”
बजेट अभावले शिक्षाका जीर्ण भवनको स्तरबृद्धि गर्न सकिएको छैन् । ५८ वटा भवन मध्य ६ वटा पुराना भवनको मात्रै मर्मत गरिएको छ । अन्य संरचनाको स्तरबृद्धि बजेट अभावले हुन सकेको छैन् ।
डिप्लोमामा ६ वटा विषय र टीएसएलसीमा २ वटा विषयको अध्ययन भइरहेको छ । डिप्लोमामा निर्माण, सिभिल इन्जिनियर, कृषि, फरेस्ट्री विशेष छात्रवृत्ति विषय अध्ययन भइरहेको छ । प्रि–जेटिए तथा प्रि–सिभिल इन्जिनियरसहितको विषय अध्ययनसमेत भइरहेको छ ।
शिक्षालयको स्तरबृद्धि गर्ने मन्त्रीको प्रतिबद्धता
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले जीर्ण शिक्षालयको स्तरबृद्धिका लागि आबश्यक लगानी गर्ने प्रतिबद्धता गरेका छन् । चार दशक पहिला स्थापना भएको मुलुककै जेठो शिक्षालयको महत्व,आबश्यकता र योगदानको कदर गर्दै प्रदेशले आबश्यक लगानी गर्ने उल्लेख गरे ।
शक्रबार शिक्षालयको ४३ औँ वार्षिक उत्सवको अबसरमा आयोजित समारोहलाई संबोधन गर्दै मन्त्री सिंहले शिक्षालयको शैक्षिक,भौतिक तथा प्रशासनिक क्षेत्रको विकासका लागि प्रदेशबाट आबश्यक बजेटको व्यवस्थापन गर्ने आश्वासन दिएका हुन् ।
प्राविधिक शिक्षालाई आधुनिक प्रविधियुक्त बनाउन,दक्ष जनशक्ति उत्पादनको क्रमलाई बढाउन पूर्वाधार विकासका लगायतको कार्यका लागि प्रदेशले लगानी गर्ने उनको भनाई छ । मुलुककै जेठो प्राविधिक शिक्षालयले गुणस्तरीय शिक्षा तथादक्ष जनशक्ति उत्पादनका हिसाबले उल्लेखीय योगदान दिएको उनको भनाई छ ।
![](https://karnalimission.com/wp-content/uploads/2023/07/361069193_1464904740927535_274306807234894139_n.jpg)
प्राविधिक शिक्षाको विकास बिना दक्ष जनशक्ति उत्पादन सम्भव छैन् । उनले भने,“आबश्यक समन्वय सहकार्य गरेर शिक्षालयको दिगो व्यवस्थापन तथा स्थायीत्वका लागि प्रदेश सरकारले आबश्यक लगानी गर्ने छ ।”
कर्णाली प्राविधिक शिक्षालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्णालीका शिक्षा क्षेत्रका धरोहर हुन् । प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल भने,“यिनै क्षेत्रमा राज्यको लगानी निकै कम हुने गरेको देखिन्छ । राज्यको लगानी पुगेको छैन । दक्ष जनशक्ति उत्पादन गर्ने क्षेत्रमा राज्यले लगानी बढाउनु पर्ने देखिएको छ ”
यस्तै कर्णाली प्रदेश सांसद देवेन्द्र शाही पनि यसै शिक्षालयमा अध्ययन गरेका व्यक्ति हुन् । उनले २०७९ सालको प्रतिनिधि तथा प्रदेश सभा सांसदमा जुम्लाको निर्वाचन क्षेत्र १ बाट निर्वाचित भएका हुन् । उनले यो शिक्षालयमा संघ, प्रदेश र स्थानीय तह सवैले लगानी गर्नुपर्ने देखिएको बताए ।
कर्णाली प्राविधिक शिक्षालय जुम्लाको शैक्षिक पर्यटन गन्तव्य पनि हो । अहिले पनि हरेक आन्तरिक पर्यटकको रोजाई बनेको छ । कर्णालीको ज्यूँदो इतिहास बोकेको शैक्षिक संस्थाको उन्नति र प्रगतिका लागि सवैको चासो हुन जरुरी छ ।