जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट बितेको ६ वर्षमा २३ सयबढी अति विपन्न नागरिकले निशुल्क विशषज्ञ स्वास्थ्य उपचार पाएका छन् । आव २०७४÷७५ देखि आव ०७९÷८० सम्म ६ वर्षमा कर्णाली प्रदेशभरका २ हजार ३ सय बढीले निःशुल्क विशषज्ञ उपचार लिएका हुन् ।
प्रतिष्ठान जुम्लामा स्थापना २०६८ सालमा भएपनि औपचारिक सेवा प्रवाह २०७० सालदेखि भएको थियो । सुरुवातीमा आर्थिकदेखि डाक्टरको अभाव झेलीरहेको प्रतिष्ठानले विपन्नलाई निशुल्क उपचार दिन्थेन् । तर २०७४ साल यता भने कर्णाली प्रतिष्ठानले आर्थिक रुपले विपन्न नागरिकलाई निशुल्क उपचार दिदैँ आएको छ । जसले गर्दा प्रतिष्ठान विपन्न नागरिकको पनि भरोसा केन्द्र बनेको छ ।
आ.व २०७४÷०७५ देखि आ.व ०७९÷८० सम्मको ६ वर्षको अवधिमा मात्रै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले २३ सय विपन्न नागरिकलाई निःशुल्क उपचार गरेको छ । २३ सयबढी विपन्न नागरिकलाई प्रतिष्ठानले झण्डै डेढ करोड बराबरको निःशुल्क उपचार गरेको देखिन्छ ।
मेडिकल रेर्कडर मेघराज बुढाका अनुसार प्रतिष्ठानबाट आ.व २०७४÷०७५ २ सय ७१ ज्ना विपन्न नागरिकले ४ लाख ५८ हजार ५४३ रुपैया बराबरको निःशुल्क उपचार पाएका छन् । आ.व २०७५÷०७६ मा २ सय ८२ जनाले ७ लाख ७८ हजार ८६२ रुपैया,आ.व २०७६÷०७७ मा २ सय ५३ जनाले ९ लाख १२ हजार ४४४ रुपैया बराबरको निःशुल्क उपचार पाएका हुन् ।
त्यस्तै ,आ.व २०७७÷०७८ मा १ सय ९३ जनाले १९ लाख ८९ हजार २९१ रुपैया बराबको निशुल्क उपचार पाएका थिए । भने, आ.व २०७८÷०७९ मा विगतको भन्दा ह्वात्तै बढेर ५ सय ८६ जनाले ४१ लख ८५ हजार ८७ रुपैयाको निशुल्क उपचार पाएको मेडिकल रेकर्डर मेघराज बुढाले जानकारी दिए ।
उनका अनुसार गत आ.व २०७९÷०८० मा अहिलेसम्मकै धेरै संख्यामा ७ सय ७२ जना अति विपन्न नागरिकले ५३ लाख ७४ हजार ८२२ रुपैया बराबरको निशुल्क उपचार लिएका छन् ।
६ वर्षको तथ्यांकलाई मात्र अध्यायन गर्दा प्रतिष्ठानबाट २ हजार ३ सय ७१ जना विपन्न नागरिकले प्रतिष्ठानबाट १ करोड ३६ लाख ९९ हजार ४९ रुपैयासहित अन्य क्यान्सर,मृगौला रोग सम्बन्धी सहयोग झण्डै गरी डेढ करोड बराबरको निःशुल्क उपचार लिएको देखिन्छ ।
विपन्न नागरिकको निशुल्क उपचारका लागि सरकारले पहिला पैसा दिन्थेन् । त्यतिबेला कर्मचारीबाटै उठाएर पनि निशुल्क उपचार हुने रहेछ । पछिल्लो २÷३ वर्षमा केहि रकम पठाउँछ ।
कर्णाली प्रतिष्ठानका रजिष्टार नृपेन्द्र महत भन्छन,“आर्थिक अभावले कोहि नागरिक उपचार पाउनबाट बन्चित नहुन भन्ने हाम्रो उदेश्य हो । सरकारले कम बजेट पठाउने गरेपनि निशुल्क उपचार लिनेको संख्या वर्षेनि बढ्दो छ । यो प्रतिष्ठानका लागि अबसर र चुनौती दुबै हो । प्रतिष्ठान प्रति विपन्न नागरिकको भरोसा बढ्नु,गरिबको कोहि नभए प्रतिष्ठान छ भन्ने आशा जाग्नु हाम्रा लागि अबसर हो । तर स्रोत सिमित हुदैँ जाने,सरकारले न्युन बजेट पठाउने तर निःशुल्क उपचार लिने विपन्न नागरिकको संख्या बृद्धि हुनु हाम्रो लागि चुनौतीको विषय छ ।”
अस्पताल भवन हेर्ने बित्तिकै धेरैलाई उपचार खर्च महंगो होला भन्ने लाग्छ ? आर्थिक अबस्था कमजोर हुनेले उपचार पाउलान्त ? भन्ने प्रश्न त उब्जीनेनै भयो । तर कर्णाली प्रतिष्ठान आफ्नो स्रोतले धाने सम्म कर्णालीका अति विपन्न नागरिकको निःशुल्क उपचार गरीरहेको रहेको प्रतिष्ठानका उपलकुलपति डा.मंगल रावलले बताउनुभयो ।
उहाँले भन्नुभयो,“विपन्न नागरिकको स्वास्थ्य अधिकार आर्थिक अभावले मात्रै बन्चित हुदैँन् । कर्णाली प्रतिष्ठानले विपन्न नागरिकलाई स्वास्थ्य अधिकार प्रत्याभुत गराउँछ । कोरोनाको रोकथाम र नियन्त्रणमा अग्रहणी भुमिकापछि पश्चिम नेपालकै भरोसा बनेको प्रतिष्ठानको विस्तार र विकासमा राज्यले ध्यान दिन जरुरी छ ।”
विपन्नको भरोसा बन्दै प्रतिष्ठान
कर्णालीका नागरिकलाई डेढ दशक अघिसम्म सस्तो,सुलभ र निःशुल्क उपचार पाउनु त कल्पनै थिएन् । दुर्घटनामा परी मृत्यु भएको शवको पोष्ट मार्टम गर्न पनि हप्तादिन डाक्टर कुर्नु पर्ने बाध्यता थियो । राम्रो चिकित्सक र औषधीमुलो नपाएर अकालमै ज्यान गुमाउनुपर्ने कर्णालीबासीको नियती जस्तै मात्र भनेको थिएन् बाध्यात्मक स्थिती पनि थियो ।
अनमी र अहेबकै भरमा कर्णालीका जिल्ला अस्पताल चल्थे । कहाँबाट पाउनु निःशुल्क उपचार र विषशज्ञ स्वास्थ्य सेवा ? सुत्केरी व्यथाले महिलाको अकालमै मृत्यु हुने,आर्थिक अभावले रोग लुकाएरै बस्नु पर्ने,राम्रो उपचार नपाउने जस्ता समस्याले कर्णालीका नागरिक स्वास्थ्य सेवाको पहुँचबाट निकै टाढा थिए । आर्थिक विपन्नताका कारण कर्णालीका नागरिकले गम्भीर प्रकृतिका रोगहरु लुकाउन र अन्ततःमृत्युवरण गर्न बाध्य समेत भए ।
तर २०६८ सालमा जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल स्थापनापछि कर्णाली क्षेत्र स्वास्थ्य सेवा प्रवाह,अध्यायन र अनुसन्धानमा मात्र अब्बल बनेन् । कर्णाली प्रतिष्ठानको स्थापनापछि यहाँका आर्थिक अभावले रोग पाल्दै बसेका अति विपन्न नागरिकहरु समेत विशषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पुगेका छन् ।
प्रतिष्ठानले कर्णालीका १० जिल्ला सहित सुदुरपश्चिमका ३ गरी १३ जिल्लामा आफ्नो सेवा प्रवाह गरिरहेको छ । प्रतिष्ठानले उपचार सेवामात्र होइन, आम नागरिकमा अस्पतालमा गई स्वास्थ्य स्थितिबारे जानकारी लिने बानीको विकास गराएको छ ।