जुम्ला । पातारासी गाउँपालिका–७ रिनी गाउँकी ललिता खड्का पुस/माघको कठ्याँग्रिदो चिसाको प्रवाह नगरी एकाबिहानै आलुको भारी बोकेर बजारतिर लाग्छिन् । गाउँबाट करिब ३ घण्टाको पैदल यात्रापछि बजार पुगेर बजारका कुनाकुना, चोकचोक र होटलहोटल चर्हादै आलु बिक्री गर्छिन् ।
आलु बेचेरै ललिता आर्थिक रूपमा आत्मनिर्भर बनेकी छन् । दैनिक ४० देखि ४५ किलो आलु बजारमा बिक्री गरेर १५ सयदेखि दुई हजारसम्म कमाएर घर फर्किन्छिन् ।
गाउँमा संकलन केन्द्र नहुँदा बोकेर बजार ल्याउनु पर्ने बाध्यता छ । ललिता भन्छिन्, ‘आलु हाम्रो परिवार चलाउने मुख्य माध्यम हो । छोराछोरीको कापी कलमदेखि नुन तेल लुगा फाटो गर्ने मुख्य स्रोत नै आलु बिक्री हो । तर उपयुक्त मूल्य नपाउने समस्याले गर्दा घाटा खानुपर्छ ।’
त्यस्तै पातारासी–७ रिनी गाउँकै बेलमाया बोहोरा पनि सधै झिसमिसे बिहानीमै आलुको भारी बोकेर बजार ल्याएर बिक्री गर्छिन् । पसलपसल, तरकारी मण्डीमा पुगेर आलु बिक्री गरेको रुपैयाँ पाएपछि घरमा चाहिने आवश्यक खाद्यान्न किनेर लिने गरेको बेलमायाले बताइन् ।
‘घरको सानोतिनो खर्चका लागि श्रीमान्कै मुख ताक्नुपर्ने बाध्यता छैन,’ उनी भन्छिन, ‘आलु बेचेरै महिनामा १५ देखि २० हजार आम्दानी हुन्छ । विगतमा ५० देखि ६० हजारसम्म आलु बेचेर कमाएकी थिएँ । यसपालि पर्याप्त पानी नपर्दा आलु फलेन । त्यसैले आम्दानी पनि घटेको छ । बिक्रीका लागि आलु बजार ल्याएपछि केहीले भनेजस्तो मूल्य नपाएर २०/२५ रुपैयाँ प्रतिकेजी बेच्याैं । थोरै धेरै भए पनि रित्तो फर्किदैनौ ।’
रिनी गाउँकी ललिता र बेलमायाजस्तै पातारासी गाउँपालिकाका धेरै महिला आलुलगायतका कृषिउपज बिक्री गरेर आत्मनिर्भर बनेका छन् । पातारासी जुम्लाको अन्न भण्डार हो । जहाँ आलु, मकै, कोदो, सिमी, फापर, जौ, गहुँलगायतका कृषिउपज मनग्य रूपमा उत्पादन हुन्छ । तर संकलन केन्द्र तथा प्रशोधन र बजार अभावले उपयुक्त मूल्य पाउन सकेको छैन ।
जसका कारण ३/४ घण्टाको पैदल हिँडेर आलु बेच्न बजार आउन बाध्य छन् । दैनिक बजारमा आलु बेच्न आउने रिनी गाउँकी ललिता खड्काले ३० बोरा, सुशीला खड्काले ३५ बोरा, बेलमाया बोहोराको घरमा २५ बोरा आलु उत्पादन भएको छ ।
दैनिक रिनी गाउँबाट मात्रै पाँचदेखि सात क्विइन्टलसम्म आलु बिक्री हुने गरेको छ । कहिले रुपैयाँ बिक्री नहुँदा तेल, चामल, धान लगायतका खाद्यान्नबालीसँग समेत आलु साट्ने गरेको सुशीला खड्काले बताइन् । बिहान बजारमा आलु ल्याउन अघिल्लो साँझ नै खाडलबाट निकालेर बोरामा हाल्छौं ।
उनले भनिन्, ‘जागिर छैन । कमाउने अन्य कुनै आयस्रोत छैन । कृषि हाम्रो मुख्य कमाउने आधार हो । त्यसमा पनि आलुको आम्दानीले घर खर्च चल्छ । छोराछोरीको पढाइ लेखाइमा राहत पुगेको छ । आलु बिक्रीबाट मात्रै वार्षिक ६० हजारसम्म आम्दानी हुने गरेको छ ।’
सहज बजारीकण र कृषि उत्पादनको मूल्य निर्धारण नहुँदा हामीलाई बजारमा भाैंतारिनु परेको पातारासीका महिलाको गुनासो छ । गाउँपालिकाले सकेसम्म पालिकामै संकलन केन्द्र स्थापना गरी किसानको उत्पादन किनी दिनुपर्ने त्यति नभए पनि बजारसम्म आलु ढुवानीको व्यवस्थापन गरिदिन समेत महिलाको माग छ ।
साना तिना खर्चका लागि पनि श्रीमान्कै मुख ताक्नु पर्ने परिस्थितिलाई बदल्दै पातारासीका महिलाले आलु बेचेर आत्मनिर्भर भएको सन्देश दिएको नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्णप्रसाद चौलागाईंले बताए ।
उनले भने, ‘दैनिक बिहानीपख मर्निङ वाकमा जाँदा लस्करै लागेर आलुको भारी बोकेका महिला बजार भित्रिएका हुन्छन् । चिसोको प्रवाह नगरी उत्पादनको बजारीकरणमा जुटेका महिलाको संघर्ष प्रेरणादायी छ ।’
स्थानीय तह र कृषि विकास कार्यालयले समन्वय गरी पातारासीको आवश्यकता मध्यनजर गर्दै गाउँगाउँमा संकलन केन्द्र निर्माणमा लगानी गर्नुपर्नेमा अध्यक्ष चौलागाईंले जोड दिए ।